रसुवा भन्सारले एमआरपी नभएका सामानको जाँचपास रोक्यो
रसुवा भन्सार कार्यालय टिमुरेले चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको जाँचपास अस्थायी रूपमा रोकिदिएको छ।
आयात गरिएका खाद्य तथा गैरखाद्य वस्तुमा उपभोक्ताका लागि अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नभेटिएपछि जाँचपास रोकिएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार उपभोक्ता संरक्षण ऐनअनुसार प्रत्येक वस्तुमा एमआरपी उल्लेख अनिवार्य भएकाले नियम उल्लंघन भएका सामग्री रोकिएको हो।
हाल एमआरपी नभएका सयौँ ट्रक सामान भन्सार परिसरमै रोकिएका छन्। नियम कडाइका साथ लागू गर्दा आयात प्रक्रिया केही समय प्रभावित भए पनि उपभोक्ता अधिकार संरक्षणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।