नेपालगञ्जमा विपद् व्यवस्थापनमा नयाँ अभ्यास: ‘फायर बाइक’देखि स्वयंसेवक परिचालनसम्म
नेपालगञ्ज (बाँके) — बाँकेको नेपालगञ्जमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘फायर बाइक’ प्रयोगदेखि समुदायस्तरका स्वयंसेवक परिचालनसम्मका नयाँ अभ्यास सुरु गरिएको छ।
‘विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त अभ्यासहरूबारे जानकारी दिइएको हो।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले विपद् व्यवस्थापनमा बहुआयामिक विश्लेषणका आधारमा योजना तर्जुमा आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले कतिपय विपद् जोखिम नियन्त्रण बाहिर हुने भएकाले पूर्वतयारीमा जोड दिनुपर्ने धारणा राखे।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापनका क्षेत्रमा सुपर परियोजनासँग सहकार्य भइरहेको जानकारी दिँदै ‘हिट वेभ’ कार्ययोजना प्रभावकारी रूपमा अघि बढाइएको बताए। उनले विपद् व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी भएको उल्लेख गरे।
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगञ्जमा भइरहेका असल अभ्यासहरू अन्य स्थानीय तहले पनि अनुकरण गर्ने बताए।
उपमहानगरपालिकाको दमकल शाखाका अनुसार नेपालगञ्जमा अहिले तीन वटा दमकल र एउटा फायर ब्रिगेड बाइक सञ्चालनमा छन्। इन्चार्ज झैनबहादुर खड्काले विद्युत् अनियमितताका कारण आगलागीका घटना बढी हुने गरेको उल्लेख गर्दै सूचना प्राप्त हुनासाथ दमकल तुरुन्त घटनास्थल पुग्ने व्यवस्था रहेको बताए।
विपद् जोखिम अध्ययनका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं ३ र ७ लाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ। पुरानो बस्ती, माटोका घर र साँघुरा सडकका कारण ती क्षेत्रमा जोखिम बढी देखिएको सुपर परियोजना कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताए।
ती वडामा करिब ४०० जना ‘सामुदायिक विपद् स्वयंसेवक’ तयार पारिएको छ। उनीहरूलाई आगलागी नियन्त्रण, भूकम्प र डुबानबाट सुरक्षित रहने उपायबारे तालिम दिइएको छ।
नेपालगञ्जमा अव्यवस्थित सहरीकरणका कारण विपद् जोखिम अझ बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्। करिब २५ हजार घरपरिवारका झण्डै एक लाख ५० हजार नागरिक विभिन्न विपद्को जोखिममा पर्ने अनुमान गरिएको छ।