उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडा चोक नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र३-०१-००६ ख ०३७५ नम्बरको ट्रक र विपरित दिशा रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १-०५-००२ प १६०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पुरुष र पछाडि सवार एक महिला गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक रहेको र उनीहरूको नाम तथा ठेगाना अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकलसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। हाल घटनास्थलमा प्रहरीले मुचुल्का उठाएर घटनाको थप अनुसन्धान गरिरहेको छ।