सुनसरीमा साढे ६ लाख नगदसहित दुई जना पक्राउ
सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीस्थित सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान साढे ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।
पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय राम लखन यादव र पछाडि सवार भारतीय नागरिक सुपौल जिल्ला हनुमाननगर ग्राम पञ्चायत–१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
प्रहरीका अनुसार यादवको साथबाट नेपाली रुपैयाँ ५ लाख १ हजार ५०५ र भारतीय रुपैयाँ ५ हजार ३५० फेला परेको छ । त्यस्तै, मुखियाको साथबाट नेपाली १ लाख ४७ हजार २०५ र भारतीय ७ हजार ६०० रुपैयाँ बरामद गरिएको छ ।
उनीहरूको साथबाट कुल नेपाली ६ लाख ४८ हजार ७१० र भारतीय १२ हजार ९५० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका दुवै जनालाई हुण्डी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।