कृषि सहकारीका पीडितलाई बचत फिर्ता गर्न सुरु
भक्तपुरको गठ्ठाघर कार्यालय भई हाल समस्याग्रस्त घोषित कृषि बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता पाउन थालेका छन् । मध्यपुर थिमि नगरपालिकाद्वारा गठित व्यवस्थापन समितिले पहिलो चरणमा १० हजार रुपैयाँसम्मका साना बचतकर्ताहरूलाई रकम वितरण गर्ने गृहकार्य सुरु गरेको हो।
नगरपालिकाले उच्च अदालतका पूर्व न्यायाधीश विनोद मोहन आचार्यको अध्यक्षतामा सात सदस्यीय विज्ञ टोली सहितको व्यवस्थापन समिति गठन गरी यो प्रक्रिया अगाडि बढाएको थियो । उक्त सहकारीलाई गत जेठ १७ गते समस्याग्रस्त घोषणा गरिएको थियो।
समितिका अनुसार हालसम्म ५३८ जना बचतकर्ताले करिब २२ करोड रुपैयाँ फिर्ताको माग गर्दै दाबी पेस गरेका छन् । बचतकर्ताहरूको निक्षेप ४०० रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म रहेको पाइएको छ।
समितिका प्रवक्ता कृष्ण प्रसाद पौडेलका अनुसार सहकारीको कुल बचतमध्ये करिब ७ करोड रुपैयाँ मात्र ऋणका रूपमा प्रवाह भएको देखिन्छ भने बाँकी १५ करोड रुपैयाँ सञ्चालकहरूले हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सहकारीका अध्यक्ष तेजविक्रम थापा हाल ललितपुरको कुमारीपाटीस्थित अर्को एक सहकारीको अर्बौँ रकम ठगी गरेको आरोपमा नख्खु कारागारमा थुनामा छन्। अन्य सञ्चालक र अधिकांश ऋणीहरू भने हाल समितिको सम्पर्कमा नरहेको बताइएको छ।
प्रवक्ता पौडेलका अनुसार सहकारीका महत्त्वपूर्ण कागजात र प्रमाणहरू गायब पारिएका कारण ऋण असुलीमा समस्या उत्पन्न भएको छ। यद्यपि, ऋणीहरूको चल–अचल सम्पत्ति रोक्का राख्ने प्रक्रिया सुरु भएपछि केही ऋणीहरू सम्पर्कमा आउन थालेका छन्। हालसम्म करिब ४५ लाख रुपैयाँ असुली भइसकेको छ।
छानबिनका क्रममा झापाको सुरुङ्गा र मोरङको टकुवामा सहकारीको नाममा रहेका विभिन्न कम्पनीका ५०० रोपनी जग्गा फेला परेको छ । तर, उक्त जग्गामा वर्षौँदेखि सुकुम्वासीहरूको बसोबास रहेको र उनीहरूले नापजाँचमा अवरोध खडा गरेका कारण समितिले जग्गा कब्जामा लिन सकेको छैन।