नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन
नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षका गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आजै दाहसंस्कार गरिनेछ । उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको टिप्पणी चिकित्सक समुदायले गरेका छन् ।
डा. गंगोलले आफ्नो दीर्घ चिकित्सकीय जीवनमा न्युरोसर्जरी मात्र नभई पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीमा ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सम्पन्न गरेका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत रहेका डा.गंगोलले चार दशकसम्म वीर अस्पतालमा सेवा दिएका थिए भने उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरेका थिए ।
वि.सं.१९८९ चैतमा काठमाडौंमा जन्मिएका गंगोलले त्रिचन्द्र कलेजबाट बीएस्सी अध्ययन पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस र बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए । सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट आफ्नो सेवा यात्रा सुरु गरेका थिए ।
नेपाल चिकित्सक संघले श्रद्धाञ्जली व्यक्त गर्दै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।