पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।