बुढीगण्डकी आयोजना अघि बढाउने सरकारी पहलको भट्टराईद्वारा स्वागत
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउन थालेको पहलको स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले लामो समयदेखि अन्योलमा रहेको आयोजना अब गति लिन लागेकोमा खुसी व्यक्त गरेका छन्। उनले बुढीगण्डकीलाई केवल १२०० मेगावाट विद्युत उत्पादन गर्ने परियोजना मात्र नभई देशको बहुआयामिक आर्थिक रूपान्तरणको “गेम चेन्जर” का रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार देशको मध्यभागमा अवस्थित यो आयोजना काठमाडौँ, पोखरा र भरतपुर जस्ता प्रमुख सहरहरूको बीचमा पर्ने भएकाले यसको रणनीतिक महत्त्व उच्च रहेको छ। “यसलाई केवल विद्युत आयोजना मात्र मान्नु हुँदैन, यसले औद्योगिक अर्थतन्त्रतर्फ फड्को मार्न मद्दत गर्छ,” उनले उल्लेख गरेका छन्।
भट्टराईले संयुक्त राज्य अमेरिका को टेनेसी भ्याली र चीन को थ्री गर्जेज ड्याम जस्तै उच्च प्राथमिकतामा राखेर यो आयोजना अगाडि बढाउनुपर्ने बताएका छन्।
उनले आयोजनालाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतको साधारण कम्पनीमार्फत सञ्चालन गर्नुको सट्टा छुट्टै ऐनद्वारा अधिकारसम्पन्न ‘बुढीगण्डकी जलाधार विकास प्राधिकरण’ गठन गरेर अघि बढाउन सुझाव दिएका छन्। अन्यथा, आयोजना पुनः अलमलमा पर्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
भट्टराईका अनुसार फेवातालभन्दा १५ गुणा ठूलो जलाशय बन्ने यस आयोजनाले बहुआयामिक उपयोग, नयाँ सहरी विकास, चक्रपथ निर्माण, पर्यटन प्रवर्द्धन तथा औद्योगिक विस्तारमार्फत नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
वर्तमान सरकारमा प्रधानमन्त्री स्वयं इन्जिनियर हुनुका साथै सो क्षेत्रका जनप्रतिनिधिहरू अर्थमन्त्री र सभामुखजस्ता महत्वपूर्ण भूमिकामा रहेकाले विगतका कमजोरी सच्याउँदै आयोजना सफल बनाउने यो उपयुक्त अवसर भएको उनले बताएका छन्।