ओली–लेखक पक्राउविरुद्ध कैलालीमा एमालेको प्रदर्शन, तत्काल रिहा गर्न माग
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै एमाले कैलालीले कैलालीको धनगढीमा प्रदर्शन गरेको छ।
केन्द्रीय सर्कुलरअनुसार जिल्लाका २३ वटै जनसंगठनको संयुक्त आयोजनामा शनिबार दिउँसो प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म नाराबाजी गर्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
उनीहरूले राजनीतिक प्रतिशोधका कारण ओली र लेखकलाई पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न माग गरेका छन्।
प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयअगाडि आयोजित कोणसभामा अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्का, किसान महासंघ सुदूरपश्चिमका नेता मदन रेग्मी र भूमिहीन सुकुम्बासी संगठनका केन्द्रीय उपमहासचिव लोकेन्द्र सिंहले सम्बोधन गरेका थिए।
उनीहरूले बालेन शाह नेतृत्वको सरकारमाथि प्रतिशोधपूर्ण कदम चालेको आरोप लगाउँदै माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।