नाबालिकाको अन्तरङ्ग तस्बिर र भिडियो टेलिग्राममा फैलाउने युवक पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरी एक नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय अशोक लामालाई पक्राउ गरेको छ। काभ्रेपलान्चोक जिल्ला, नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल काठमाडौं बस्ने लामालाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।
नाबालिकाका अन्तरङ्ग तस्बिर र भिडियोहरू टेलिग्राममार्फत प्रसारण भइरहेको सूचनाका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो।
पीडित नाबालिकाले आफ्ना इन्स्टाग्रामका साथीहरूबाट आफ्ना निजी तस्बिरहरू सार्वजनिक भइरहेको जानकारी पाएपछि साइबर ब्यूरोमा कारबाहीका लागि निवेदन दिएकी थिइन्।
ब्यूरोले गरेको प्राविधिक विश्लेषण र अनुसन्धानबाट ती सामग्री फैलाउन लामाको संलग्नता देखिएको हो। पक्राउ परेका लामालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
ब्यूरोले उनलाई गत चैत ८ गते काठमाडौँबाट पक्राउ गरी चैत ९ गते जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो। अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।