रविको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरूद्धको रिट हेर्न नभ्याइनेमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ मा परेको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुन नसकेको हो।
युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानुनका विद्यार्थीहरू तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन स्वीकृति दिएकी थिइन्। सो निर्णयविरुद्ध परेको रिटमा निवेदकहरूले उक्त निर्णय बदर गर्न र मुद्दा कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।
सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की र रूपन्देही जिल्ला अदालतले पनि यस विषयमा अन्तिम निर्णय गरिसकेका छैनन्।