रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका छन् । सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् ।
यसअघि उक्त सूचना केन्द्रको कालोसूचीमा ८ पटकसम्म परेको भेटिएपछि निर्वाचन आयोगले मंगलबार धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिदिएको थियो ।
अब सर्लाही ३ का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् । कर्जा सूचना केन्द्रले राखेको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो ।
उक्त कालोसूची अहिले पनि यथावत छ । अर्थात्, उनले बैंकबाट लिएको कर्जा अझै फर्च्यौट गरेका छैनन् । कलवार ठेकेदार हुन् । उनले ठेक्का लिएर कयौँ विकास निर्माणका आयोजना अलपत्र पारेको आरोप पनि लागिरहेको छ।
कलवार २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए । त्यसबेला उनी नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले हारेकाा थिए । उप्रेती जितेर एक पटक रक्षामन्त्री भए भने कलावर माओवादी छाडेर रास्वपातिर लागेका छन् ।