गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ
काठमाडौँको गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ । ब्लु बुक नवीकरण गरिदिने लगायतको काममा सहजीकरण गरिदिने नाममा यात्रुलाई हैरानी गरेको आरोपमा उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, चन्द्रागिरि घर भएका २३ वर्षीय सुदिप मगर, धादिङका २० वर्षीय बुद्ध तामाङ, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, धादिङका अमन तामाङ, बझाङका उज्ज्वल सिंह र मोरङ घर भएका २६ वर्षीय दिलीप राई छन् । प्रहरीले आरोपीहरूको साथबाट सेवाग्राहीको ब्लु बुक बरामद गरेको छ ।