सिद्धबाबा नजिक स्कुल बसमाथि ढुंगा खस्यो
बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै स्कुल बसमाथि ढुंगा खसेको छ। विद्यार्थी लिन बुटवलबाट पाल्पातर्फ जाँदै गरेको स्टार इङ्लिस बोर्डिङ स्कुल, बुटवलको लु १ क ३६३७ नम्बरको बसमाथि ढुंगा खसेको हो।
प्रहरी चौकी दोभान, पाल्पाका अनुसार तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङ मार्गको बुटवलतर्फको प्रवेशद्वार नजिक सडक माथिबाट ढुंगा खसेर बसमा लागेको हो।
बिहान करिब साढे ८ बजेतिर भएको घटनामा बस विद्यार्थी लिन गएको भए पनि खाली रहेकोले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। सडक माथिबाट खसेको ढुंगा बसको छत फोरेर भित्र पसेको प्रहरीले जनाएको छ।
पछिल्लो समय एउटा जिल्लाबाट अर्को जिल्लामा विद्यार्थी लिन जाने सवारी साधनहरू दुर्घटनामा पर्ने घटना बढ्दै गएको छ। पढाइका लागि घरदेखि टाढा रहेका विद्यालयमा बालबालिकालाई पठाउने प्रवृत्तिका कारण साना बालबालिकाको ज्यानसमेत जोखिममा पर्ने गरेको देखिएको छ।
यसअघि गत माघ २० गते नवलपरासीको परासीबाट विद्यार्थी बोकेर ल्याउँदै गरेको रूपन्देहीको मणिग्रामस्थित शान्ति नमुना माविको बस ओमसतिया–४ वसन्तपुरमा दुर्घटना हुँदा १० भन्दा बढी विद्यार्थी घाइते भएका थिए।