चीनद्वारा मल निर्यातमा प्रतिबन्ध, विश्व बजारमा दबाब बढ्ने संकेत
बेइजिङ । चीनले घरेलु बजार सुरक्षित राख्ने उद्देश्यले रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार इरानसँगको युद्धका कारण विश्व बजारमा पहिले नै दबाब बढिरहेका बेला चीनको यो कदम आएको हो।
गत मार्च महिनामा बेइजिङले नाइट्रोजन–पोटासियम मिश्रित मल तथा केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ। यसअघि लागू गरिएको प्रतिबन्ध र युरियामा लगाइएको कोटासँगै हाल चीनबाट सीमित मात्रामा मात्र मल निर्यात भइरहेको छ। अहिले विशेषगरी अमोनियम सल्फेटजस्ता मल मात्र निर्यात भइरहेको बताइएको छ।
यसका कारण गत वर्षको तुलनामा चीनको करिब आधादेखि तीन-चौथाइसम्म मल निर्यात प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जुन करिब ४० मिलियन मेट्रिक टनसम्म हुन सक्छ।
विश्वका सबैभन्दा ठूला मल निर्यातकर्तामध्ये एक चीनले गत वर्ष १३ अर्ब अमेरिकी डलरभन्दा बढीको मल निर्यात गरेको थियो।