झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर विजयी
झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार इन्दिरा रानामगर निर्वाचित भएकी छन् । पूर्वउपसभामुखसमेत रहेकी रानामगरले पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले)का देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरेकी हुन् ।
आइतबार मध्यराति घोषणा गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाकी रानामगरले ६० हजार ११० मत प्राप्त गरेकी हुन् । निकटतम प्रतिस्पर्धी रहेका घिमिरेले ११ हजार ३६८ मत मात्र प्राप्त गरे । रानामगर लगातार दोस्रोपटक सांसद भएकी हुन् । यसअघि २०७९ मा उनी रास्वपाको समानुपातिक सूचीबाट सांसद भएकी थिइन ।
एमालेको ‘गढ’ मानिएको झापा– २ मा रास्वपाकी रानामगरले इतिहासमै सर्वाधिक मतान्तरले जित हासिल गरेकी हुन् । २०७९ मा देवराज घिमिरे २८ हजार ७१६ मत ल्याउँदै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भनी चिनिने घिमिरेले यसपटकको चुनावमा महाकाली सन्धिको हस्ताक्षरकर्ता, संसदमा जनताको आवाज उठाउँदा सांसदको माइक काटेकोलगायत आरोपहरूको सामना गर्नुपरेको थियो ।