आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन लागेको छ। वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनै मत खसेको विवादका कारण दुई घण्टासम्म मतदान रोकिएको थियो।
विवादका बेला मतपेटिकामा खसेका १७१ मतपत्र सिल गरी, हस्ताक्षर नभए पनि गणना गर्ने विषयमा निर्वाचन आयोगमा पत्र पठाउने सहमति जुटेपछि मतदान पुनः सुरु गरिएको थियो।
केन्द्रीय निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेर छिटो मतगणना प्रारम्भ गर्ने निर्देशन दिएपछि, दलबीच सहमति जुटाएर गणना सुरु गर्न तयारी भएको हो । नेपाली कांग्रेसका स्याङ्जा–२ प्रतिनिधि विक्रम सारुले अब केही बेरमा मतगणना सुरु हुने बताए।