मुस्ताङ एयरको हेलिकप्टर लाङटाङ क्षेत्रमा सम्पर्कविहीन, खोजी कार्य तीव्र
मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र नजिक सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९एन–एनओ दर्ता नम्बरको एएस ३५० हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान तालिकाअन्तर्गत ल्हाप्चाबाट १२:१७ बजे चरिकोटतर्फ उडेको थियो । हेलिकप्टरमा चालक दलका रूपमा एक जना क्याप्टेनसहित पाँच जना यात्रु सवार रहेका थिए ।
हेलिकप्टर सम्पर्कविहीन भएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायले खोजी कार्य तीव्र पारेका छन् । सम्भावित स्थान पहिचान गरी खोजी अभियान जारी राखिएको जनाइएको छ । हेलिकप्टरको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।