चितवनमा नाइट बसमा ढुंगा बजारियो, आकस्मिक ब्रेकले केही यात्रु घाइते
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगा खसेको छ। चालकको सतर्कताका कारण भने ठूलो दुर्घटना हुनबाट जोगिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन्।
उनका अनुसार गएराति चितवनको तुइन खोला क्षेत्रमा पहिरोबाट माथिबाट अचानक ढुंगा खसेर बसको क्याबिनमा लागेको हो। उक्त घटना बसमा जडान गरिएको सीसीटीभी क्यामरामा समेत रेकर्ड भएको छ।
बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको बसमा उक्त घटना भएको हो। बसमा चालकसहित ४३ जना यात्रु सवार थिए। तुइन खोला क्षेत्रमा गत वर्षायाममा निरन्तर पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको थियो।
घटनामा काठमाडौंबाट नारायणगढ जाँदै गरेका एक यात्रु घाइते भएका छन्। बसले आकस्मिक ब्रेक लगाउँदा थप केही यात्रु सामान्य घाइते भएको सिटौलाले बताए। चालकले बहादुरीपूर्वक गाडी नियन्त्रणमा राख्दै ठूलो दुर्घटना हुनबाट जोगाएको उनको भनाइ छ।
“थोरै पनि दायाँबायाँ भएको भए बस तल त्रिशूली नदीमा खस्ने जोखिम थियो,” उनले भने, “चालकले निकै बहादुरी देखाएका छन्।”
बसमा सीसी क्यामरा र जीपीएस सिस्टम जडान गरिएकाले घटनाबारे प्रत्यक्ष जानकारी प्राप्त भएको उनले बताए। उनका अनुसार बसमा प्रविधि जडान गर्दा यस्ता घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्छ।
सिटौलाले सबै यातायात व्यवसायी जीपीएस सिस्टम अनिवार्य गर्ने पक्षमा रहेको उल्लेख गर्दै सरकारले यसको कार्यविधि चाँडै बनाउनुपर्ने बताए। यसले भविष्यमा हुने घटनामा कसको दोष हो भन्ने स्पष्ट गर्न समेत सहयोग पुग्ने उनको भनाइ छ।