नवलपरासी कांग्रेसद्वारा मन्त्री–पूर्वमन्त्रीसहित २२ जनामाथि कारबाही सिफारिस
पाली कांग्रेस नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को अनुशासन समितिले लुम्बिनी प्रदेशका एक मन्त्री र पूर्वगृहराज्यमन्त्रीसहित २२ जना नेता–कार्यकर्तामाथि कारबाहीको सिफारिस गरेको छ।
पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गर्दै अन्य दलका उम्मेदवारका पक्षमा मत माग्दै हिँडेको आरोपमा उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको हो।
जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर १ मा उद्योगपति तथा सांसद विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) कांग्रेसका आधिकारिक उम्मेदवार हुन्। उनीहरूकै निवेदनका आधारमा अनुशासन समितिले छानबिन गरेर कारबाही सिफारिस गरेको जनाएको छ।
जिल्ला अनुशासन समितिका संयोजक गोविन्द ढकालले कांग्रेस केन्द्रीय समितिलाई पठाएको पत्रमा पार्टीको हित विपरीत गतिविधिमा संलग्न भई अन्य दलका उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको र आधिकारिक उम्मेदवारलाई हराउन खोजेको निष्कर्ष निकालिएको उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, “निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरूले दिनुभएको निवेदनअनुसार पार्टी हित विपरीत गतिविधिमा संलग्न भई अन्य दलका उम्मेदवारलाई मत माग्दै हिँडेको तथा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन लागेको बुझिन आएकाले नेपाली कांग्रेसको विधान २०१७ को दफा ३४ को उपदफा ४ ९ख० बमोजिम पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ।”
उक्त दफामा निर्वाचनको समयमा पार्टीका उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध, असहयोग वा अन्य पार्टी वा उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेमा उम्मेदवारको रायसमेत लिई तत्काल पार्टी सदस्यबाट निलम्बन गर्न सक्ने व्यवस्था रहेको छ।
कारबाही सिफारिस गरिएकामध्ये लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री एवं महाधिवेशन प्रतिनिधि देवकरण कलवार, पूर्वगृहराज्यमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नम्बर २ का पार्टी सभापति माधव पाण्डे प्रमुख छन्। अनुशासन समितिका अनुसार क्षेत्र नम्बर १ बाट १९ जना र क्षेत्र नम्बर २ बाट ३ जना गरी २२ जनामाथि कारबाही सिफारिस गरिएको हो।
यसअघि कँडेल र उम्मेदवार थापाले पार्टीबाट टिकट पाएको विषयलाई लिएर विवाद भएको थियो। दुवै पक्षले उम्मेदवारी दर्ता गराएपछि विवाद निर्वाचन आयोगसम्म पुगेको थियो। अन्ततः आयोगले भीमबहादुर थापा ९भरत० को उम्मेदवारी कायम गरेको थियो। जिल्ला अनुशासन समितिले अब केन्द्रबाट अन्तिम निर्णय हुने जनाएको छ।
यसअघि ०७९ को निर्वाचनमा पनि क्षेत्र नं १ मा विनोद चौधरीलाई असहयोग गरेको भन्दै तत्कालीन कांग्रेस लुमि्बनीका महामन्त्री विक्रम खनालसहितका नेता कार्यकर्तालाई कारबाही गरिएको थियो । अहिले उनै खनाल रास्वपा प्रवेश गरेर सोही क्षेत्रबाट निर्वाचन लडेका छन् । क्षेत्र नं २ मा पनि कांग्रेसबाटै यसअघि रामग्रामको मेयर बनेका नरेन्द्र गुप्ता रास्वपामा गएर उम्मेदवार बनेका छन् । कांग्रेसभित्रको आन्तरिक कलहका कारण दुवै क्षेत्रमा कमजोर भएको छ ।