संयुक्त राष्ट्रले नेपाल प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवस गर्यो पारित
संयुक्त राष्ट्रसङ्घले नेपालका प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवस सम्बन्धी प्रस्ताव पारित गरेको छ। अब विश्वका विभिन्न मुलुकले हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाउनेछन्।
नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार प्रस्तावले स्वास्थ्यलाई केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक र पर्यावरणीय समग्र कल्याणको रूपमा व्याख्या गरेको छ।
थापाका अनुसार प्रस्तावले दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली र समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ।
राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको उल्लेख गर्दै, प्रस्ताव पारितमा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गरे।