चितवनमा चैत २ गतेको हुरीले केराखेतीमा चार करोडभन्दा बढीको क्षति पुर्यायो
चितवन । चैत २ गते परेको हुरीले जिल्लाका केराखेतीमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक तथ्यांकअनुसार चार करोड रुपैयाँभन्दा बढीको केरा नष्ट भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म क्षति पुगेका क्षेत्रहरूको अनुगमन गरिएको थियो। सो क्रममा २० वटा फार्ममा निरीक्षण गरिएको थियो।
हुरीले भरतपुर महानगरपालिका–७ र २३, रत्ननगर–५, १२ र १४, खैरहनी–१३, र कालिका–२ देखि ५ नम्बर वडाका क्षेत्रमा बढी क्षति पुर्याएको छ। बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ। मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको छ। समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा असर परेको छ।
केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो भएकाले किसान मर्कामा परेका छन्। गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म पाएको छैन।”
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले जिल्लामा दुई हजार हेक्टर क्षेत्रमा व्यावसायिक केराखेती हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार हुरीले उत्पादनमा ठूलो क्षति पुर्याएपछि किसान चिन्तित छन्।
रत्ननगर–११ निवासी कृषक बाबुराम भट्टले आफ्नो लगाएको छ बिघा केरामा हुरीले क्षति पुर्याएको बताए। उनले बगान सरसफाइका लागि अहिले मजदुर राखेर काम गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो।
जिल्लामा हाल ७०० किसानले व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन्। प्रतिहेक्टर मालभोग २४ टन र जीनाइन ५५ टन उत्पादन हुँदै आएको तथ्यांकमा उल्लेख छ।