हिजो घाइते भएका एमाले कार्यकर्ता आज टाउकोमा पट्टी बाँधेर सडकमा उत्रिए
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ ।
एमालेका केन्द्रीय नेताका साथै कार्यकर्ताहरूले अध्यक्ष ओलीको रिहाइको माग गर्दै काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले विना सर्त केपी ओलीको रिहाइ गर, जाँचबुझ आयोगको प्रतिवेदन मान्दैनौ, गृहमन्त्री राजीनामा दे लगायतका नाराबाजी गरेका थिए ।
यसैबिच हिजोको प्रदर्शनका क्रममा घाइते भएका एक एमाले कार्यकर्ता आज टाउकोमा पट्टी बाँधेर सडकमा आएका छन् । हिजो भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा उनको टाउकोमा चोट लागेको थियो ।