निर्वाचन खर्च बुझाउने प्रधानमन्त्रीका सम्भावित उम्मेदवारमध्ये बालेन नै पहिलो
झापा–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्रीका सम्भावित उम्मेदवारमध्ये उनले नै सबैभन्दा पहिले खर्च विवरण सार्वजनिक गरेका हुन्।
बालेनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको बताएका छन्। सार्वजनिक विवरणअनुसार दुईवटा सवारीसाधनको १५ दिनको भाडामा २ लाख ९३ हजार, पाँचपटकको हवाई यात्रामा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खाजामा २८ हजार ९७० र २९ वडामा गरिएको १५ दिनको घरदैलो कार्यक्रममा ५ लाख ९० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
त्यस्तै नमुना मतपत्र छपाइमा ४९ हजार ८५०, क्षेत्रीय निर्वाचन सञ्चालनका लागि दुई महिनाको पानी खर्च १ लाख २० हजार, स्टेशनरी खर्च २२ हजार ८२०, झन्डा र ब्याच छपाइमा १ लाख ५७ हजार ४१, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
