प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ।
उक्त भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक, शान्तिपूर्ण तथा निष्पक्ष भएको उल्लेख गर्दै बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले समयमै निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको बताउँदै यसलाई सामान्य उपलब्धि नभएको धारणा राख्नुभयो।
उहाँले प्रधानमन्त्री कार्कीको दृढता र चट्टानी अडानकै कारण मुलुकले स्थिरता प्राप्त गरेको उल्लेख गर्दै विगतका निर्वाचनहरूको तुलनामा यसपटकको निर्वाचन अझ बढी शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय भएको बताउनुभयो। सानो टिम र छोटो अवधिमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचन सम्पन्न गरी मुलुकलाई सुरक्षित अवतरण गराउन सफल भएको भन्दै उहाँले प्रधानमन्त्रीप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि प्रधानमन्त्रीको अनुभव र मार्गदर्शन आवश्यक रहने अपेक्षा व्यक्त गर्नुभयो।
सो अवसरमा प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताप्रति बधाई दिँदै देशवासीलाई निराश हुन नदिने गरी एकताबद्ध भएर काम गर्न सुझाव दिनुभयो। उहाँले वर्तमान परिस्थितिलाई चुनौतीपूर्ण भएको उल्लेख गर्दै युवाप्रति जनताको ठूलो अपेक्षा रहेको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले इमानदारीपूर्वक काम गरेमा अपेक्षित परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्दै आलोचना र विरोधलाई कामबाटै जवाफ दिनुपर्ने धारणा राख्नुभयो।
भेटका क्रममा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जनाइएको छ। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो तथा पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभएको थियो।