वीरगंजमा मस्जिद लक्षित धार्मिक द्वन्द्व योजना विफल: तीन जना पक्राउ
निर्वाचन सुरक्षामा खटिएको सेनाले वीरगंजमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आतंक फैलाउने तथा सम्भावित धार्मिक द्वन्द्व निम्त्याउने प्रयास गर्ने समूहलाई बन्दोबस्तीको सामानसहित नियन्त्रणमा लिएको छ ।
समूहले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुंगुरको टाउको फाल्ने, पटाका प्रयोग गरी आतंकित बनाउने योजना बनाएको सूचनापछि सुरक्षाकर्मी सक्रिय भएको हो ।
उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगंज–१६ छप्कैया चोकबाट गरेको पिछामा राति १२ः३० बजेदेखि २ः३० बजेसम्ममा समूहका सदस्य र बन्दोबस्तीको सामान नियन्णमा लिएर पर्सा प्रहरीलाई बुझाएको छ ।
सेनाले वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र इनरुवाकै १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई पर्सा प्रहरीमा बुझाएको छ । उनीहरुका साथबाट ठूलोमात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार, सुँगुरको टाउको बरामद भएको छ ।