ओली र लेखकको रिहाइको माग गर्दै कैलाली एमालेले पनि बुझायो विरोधपत्र
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा धनगढीमा नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ।
उनीहरूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै एमाले कैलालीले आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई विरोधपत्र बुझाएको हो । विरोधपत्र बुझाउनुअघि एमालेका नेता तथा कार्यकर्ताहरूले धनगढी बजारमा नाराबाजी गर्दै विरोध र्याली निकालेका थिए।
जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पुगेर आयोजित विरोध सभामा बोल्दै एमाले नेताहरूले वर्तमान सरकारलाई दलाल सरकारको संज्ञा दिएका छन्। उनीहरूले सरकारले बाह्य शक्तिको इसारामा राष्ट्रवादी नेतालाई थुन्ने काम गरेको आरोप लगाए।
विरोधपत्र बुझाउँदै एमाले कैलालीले भनेको छ, ‘जनप्रिय नेता केपी शर्मा ओलीलाई विना सर्त र ससम्मान तत्काल रिहा गरियोस्। अन्यथा यो दलाल सरकारका विरुद्ध जिल्लाव्यापी रूपमा थप सशक्त र निर्णायक आन्दोलन छेड्न बाध्य हुनेछौँ।’
प्रदर्शनकारीहरूले ‘केपी ओली जिन्दाबाद’, दलाल सरकार मुर्दावाद, ट्यापे तेरो पाराले, दुःख पायो सारा’ ले भन्ने जस्ता चर्का नाराहरू लगाएका थिए। विरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले उक्त पत्र तत्काल सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष ओलीको पक्राउको विरोधमा कञ्चनपुर र कैलाली लगायत सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा एमाले कार्यकर्ताहरू सडकमा उत्रिएपछि सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। आज सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने बताइएको छ।