जेनजी आन्दोलनमा कारागारबाट भागेका जबरजस्ती करणीका कैदी पक्राउ
प्रहरीले जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका एक जना कैदीलाई ६ महिनापछि पक्राउ गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी समिउल्लाह मिया पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ४४ वर्षीय मियालाई सप्तरीको कञ्चनपुर नगरपालिका–७ बलुवा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो। डोरला नामले समेत चिनिने मिया कञ्चनपुर–६ घोघनपुरका स्थायी बासिन्दा हुन्। उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैदको सजाय सुनाएको थियो।
झुम्का कारागारबाट भागेदेखि नै प्रहरीको खोजी सूचीमा रहेका उनलाई आइतबार साँझ साढे ७ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका मियालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पुनः झुम्का कारागार सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।