रास्वपा लहरबीच हुम्लामा कमजोर प्रदर्शन, टासी ल्हाजोम पछि
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिए पनि केही क्षेत्रमा भने पार्टीको अवस्था कमजोर देखिएको छ। त्यसमध्ये कर्णाली प्रदेशको हुम्ला पनि एक हो। हुम्लामा रास्वपाले विवादित छविकी टासी ल्हाजोमलाई टिकट दिएको थियो। तर हालसम्मको मतगणनामा उनी निकै पछाडि परेकी छन्।
अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपेन्द्र रोकाया अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका जयपति रोकाया पछ्याइरहेका छन्।
एमालेका दल फडेरा तेस्रो स्थानमा रहेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्की चौथो स्थानमा छन्। रास्वपाकी टासी ल्हाजोम भने पाँचौँ स्थानमा रहेर संघर्ष गरिरहेकी छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक मतपरिणाम अनुसार नेकपा उम्मेदवार दीपेन्द्र रोकायाले ५ हजार १७१ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्। कांग्रेसका जयपति रोकायाले ३ हजार ९५८ मत ल्याएका छन्। एमालेका दल फडेराले ३ हजार ११ मतसहित तेस्रो स्थानमा छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २३५ मत प्राप्त गर्दा रास्वपाकी टासी ल्हाजोमले १३८ मत पाएकी छन्। उनीपछि विप्लव नेतृत्वको नेकपा (माओवादी) का कुम्भ बुढाले १०७ र राप्रपाका छक्क बुढाले ९६ मत प्राप्त गरेका छन्।
अब थोरै मतको गणना मात्र बाँकी रहेकाले मतसंख्यामा सामान्य वृद्धि भए पनि उम्मेदवारहरूको वर्तमान अवस्थाबाट खासै परिवर्तन हुने सम्भावना देखिएको छैन। यस अवस्थामा ल्हाजोमको पराजय लगभग निश्चितप्रायः देखिएको छ।