रुकुम पूर्वमा फराकिलो मतान्तरसहित प्रचण्ड अग्रस्थानमा
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएको छ। ८८ स्थानमा अहिले मतगणना भइरहेको छ। दुई क्षेत्रको अन्तिम परिणाम प्राप्त भएको छ। रास्वपा र नेपाली कांग्रेसले एक-एक क्षेत्र जितेका छन्।
जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका ३ उम्मेदवारले अग्रता लिएका छन्। रुकुम पूर्वमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले अग्रता लिइरहेका छन्। प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक हुन्।
प्रचण्डले ४ हजार ३ सय ९८ मत प्राप्त गर्दा कांग्रेसकी कुसुमदेवी थापाले १ हजार २ सय ६१ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका लिलामणी गौतमले ९ सय ७ र रास्वपाका लखनकुमार थापाले ३ सय ५४ मत प्राप्त गरेका छन्।
कपिलवस्तु २ मा बृजेशकुमार गुप्ताले अग्रता लिएका छन्। गुप्ताले १ हजार ३ सय ९६ मतका साथ अग्रता लिएका छन्। रास्वपाका विक्रम थापाले ९ सय २३ मतका साथ पछ्याइरहेका छन्। नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ६ सय ९२ मत प्राप्त गरेका छन्। गुप्ता दुईपटक प्रतिनिधि सभा सदस्य भइरहेका छन्। त्यस्तै भौतिक योजना तथा निर्माण मन्त्री र कानून मन्त्रीका रुपमा काम गरिसकेका व्यक्ति हुन्।
कालिकोट १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। उनले ५ हजार ५१७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका नगीन्द्र शाहीले ४ हजार १५० मतका साथ पछ्याइरहेका छन्।
कांग्रेसका हर्षबहादुर बमले पनि ४ हजार २७ मतका साथ पछ्याइरहेका छन्। नेपाल कम्युनिष्ट पार्टीका खडगबहादुर विश्वकर्माले २ हजार ४७४ मत प्रप्त गरेका छन्। रास्वपाका प्रकाश न्यौपानेले १ हजार ३३ मत प्राप्त गरेका छन्।