सांसद सुनारको अभिव्यक्तिप्रति शिक्षक महासंघको आपत्ति
पाल शिक्षक महासंघले शिक्षक तथा शिक्षण पेसाप्रति व्यक्त गरिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेसाबारे दिएको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा पुनः भाइरल भएपछि महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
महासंघले शिक्षक तथा कर्मचारीको पेसागत मर्यादा र स्वाभिमानविरुद्धका कुनै पनि अभिव्यक्ति र व्यवहार आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित एक जना माननीय सांसदबाट शिक्षक र शिक्षण पेसाप्रति अभिव्यक्त अमर्यादित शब्द र आशयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
महासंघले सांसद सुनारले आफ्नो पदीय गरिमासमेत बिर्सेर यस्तो अभिव्यक्ति दिएको भन्दै खेद प्रकट गरेको छ। साथै, उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न आग्रह गरेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सुनारले शिक्षकप्रति आपत्तिजनक टिप्पणी गरेका छन्। उनले अतीतमा शिक्षकहरूले विद्यार्थीलाई कडा व्यवहार गर्ने प्रसंग उल्लेख गर्दै ‘त्यस्तो मास्टरलाई पनि पैतालामा बाँसको भाटा हान्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।
0