निर्वाचनका लागि बारामा ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन
भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारामा ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । बाराको ४ वटा निर्वाचन क्षेत्रका लागि ३०५ वटा मतदान स्थल र ५८७ मतदान केन्द्रमा ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन भएका हुन् ।
यस जिल्लामा १४५ अति संवेदनशील, १०८ संवेदनशील र ५२ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखिएको छ । सोही अनुसार सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्लामा करिब १ हजार ६ सय नेपाल प्रहरी, १ हजार २ सय सशस्त्र प्रहरी, ८ सय नेपाली सेना, ३५ जना राष्ट्रिय अनुसन्धानका कर्मचारी र तीन हजार ३६ जना निर्वाचन प्रहरी खटिएका छन् ।
मतदान केन्द्र, संवेदनशील क्षेत्र, मुख्य चोक र नाका लक्षित गर्दै नियमित गस्ती, निगरानी र चेकजाँचलाई तीव्रता दिइएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाए ।
निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा मंगलबार नै कर्मचारीहरू पुगिसकेको निर्वाचन कार्यालय बाराका अधिकृत नविन चौधरीले जनाए । मतदान केन्द्रमा पुगेका कर्मचारीले आज बेलुकासम्म बुथ निर्माण गर्नेछन् । तराईमा आज होली (फागु पर्व) मनाइने हुँदा कतिपय मतदान केन्द्र मंगलबार नै तयार भइसकेका छन् । यसैबिच निर्वाचनका लागि ५८७ मतदान अधिकृतसहित ३ हजार ५५० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।