लमजुङमा विजय र्यालीको तयारी
लमजुङमा जीतको सन्निकटमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू उत्साहित बनेका छन्। मतगणनास्थल बाहिर उनीहरूले नाचगानसहित विजय र्याली निकाल्ने तयारी गरिरहेका छन्।
हालसम्म ७० हजार ३७ मत परिणाम सार्वजनिक हुँदा रास्वपाका उम्मेदवार धर्म केसीले ३१ हजार २१९ मत प्राप्त गरेका छन्। लमजुङमा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेकोमा ७६ हजार ६३१ मत खसेको थियो।
करिब ६ हजार मत गन्न बाँकी रहँदा सबै मत कांग्रेस र एमालेका उम्मेदवारको पक्षमा परे पनि उनीहरूले चुनाव जित्ने सम्भावना नरहेकाले रास्वपा समर्थकहरू उत्साहित भएका हुन्। ३५ हजारभन्दा बढी मत ल्याएर जित्ने सम्भावना देखिए पनि मतगणना स्थल बाहिर भने करिब सयको हाराहारीमा मात्र कार्यकर्ता देखिएका छन्।
‘सुशासनका लागि पार्टी होइन, मत बदलौँ’ भन्ने रास्वपाको नाराले एमाले–कांग्रेसमै बसेर पनि धेरै मतदाता घण्टीमा मतदान गर्न सक्ने र यत्रो मतान्तरले लमजुङमा रास्वपाले जित निकाल्ने अनुमान पुराना दलले गरेका थिएनन्। अहिले भने उनीहरू रास्वपालाई नजरअन्दाज गर्न नसकिने अवस्थामा पुगेका छन्। एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले पनि यो वास्तविकता स्वीकार गरेका छन्।
एमाले उपाध्यक्ष तथा लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भने आफूलाई राजनीतिको अनुभवी खेलाडी मान्दै चुनाव हार्ने कुनै सम्भावना नरहेको दाबी गर्दै आएका थिए। उनी तीन पटक मन्त्री र पछिल्लो पटक बलियो सरकारका प्रवक्ता समेत रहिसकेका छन्। तर अहिलेको मतपरिणामले धेरैलाई आश्चर्यचकित बनाएको छ।
रास्वपाका जिल्ला संयोजक अशोक सापकोटाले यसलाई पुराना दल र नेताप्रतिको जनताको असन्तुष्टिको परिणाम भएको बताए।
अप्रत्याशित विजयको माहोलमा र्याली निकाल्ने तयारी भइरहेका बेला उम्मेदवार धर्म केसीले भने आफ्ना समर्थकलाई मर्यादित र संयमित रहन आग्रह गरेका छन्। उनले बाजागाजा बजाउन सकिने तर कसैप्रति लक्षित भएर नाराबाजी नगर्न पनि अनुरोध गरेका छन्।
यता कांग्रेस र एमालेका उम्मेदवारबीच भने दोस्रो र तेस्रो स्थानका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ। कहिले कांग्रेस दोस्रो त कहिले एमाले हुँदै गर्दा पछिल्लो मतपरिणामअनुसार एमालेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका गमप्रसादलाई ४४ मतले उछिनेका छन्। गमप्रसादले १५ हजार ६०४ मत ल्याउँदा गुरुङले १५ हजार ६४८ मत प्राप्त गरेका छन्।