महावीर पुनको पुस्तक बिक्रीबारे मेयर आचार्यको सुझाव: “सडकमा होइन, व्यवसायी महासंघमार्फत बेच्नुहोस्”
पोखरा—राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानको प्रचारका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहनु भएको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्।
मेयर आचार्यका अनुसार अनुमतिबिना सडकमा पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर पर्छ र कानुनविपरीत हुन्छ, त्यसैले पुनले आफ्नो पुस्तक पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन्।
उनले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीपनको प्रशंसा गर्दै भने, “फुटपाथमा साना व्यवसाय गर्ने नियम तपाईंमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त छैन।”
मेयरले पुनलाई पोखरा आउन निमन्त्रणा गर्दै देशभरका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत पुस्तक बिक्री गराउन सकिने विकल्प प्रस्तुत गरेका छन्। उनले जोड दिए, “तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्नु हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्नु हो। हामी महासंघमार्फत उचित भुक्तानीसहित तपाईंको अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन सक्नेछौँ।”
