कांग्रेसबाट समानुपातिकतर्फ १५ महिला र ५ पुरूषको नाम सिफारिस
नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ। फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।
आज केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
शेरबहादुर देउवा सभापति हुँदा समानुपातिकतर्फ नाम निर्वाचन आयोगमा पठाइएको थियो। सोही सूचीबाट २० जनाको नाम अहिले सिफारिस गरिएको हो।
प्रवक्ता चालिसेले पार्टीले समानुपातिकतर्फ नाम सिफारिस गरिएकोसम्बन्धी विवरण पछि निर्वाचन आयोगले सार्वजनिक गर्ने पनि बताए।