भैरहवामा क्यासिनोमा जुवा खेल्दाखेल्दै १ जना पक्राउ
रुपन्देहीको भैरहवास्थित एसियन बुद्धमा सञ्चालित क्यासिनोमा जुवा खेल्दै गर्दा एक जना पक्राउ परेका छन् । बिहीबार सिन्धुपाल्चोकका ३६ वर्षीय रोलबहादुर श्रेष्ठ क्यासिनोभित्र जुवा खेल्दै गर्दा पक्राउ परेका हुन्।
क्यासिनोसम्बन्धी प्रचलित नियमअनुसार नेपाली नागरिकलाई प्रवेश तथा जुवा खेल्न प्रतिबन्ध भए पनि उनी पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेको छ।
उनलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी जनक शाहीले जानकारी दिए ।
प्रहरीका अनुसार श्रेष्ठले सुरुमा भारतीय परिचयपत्र प्रयोग गरी क्यासिनो प्रवेश गरेका थिए। तर उनको मोबाइल जाँच गर्दा नेपाली नागरिकता फेला परेपछि कानुनी कारबाही अघि बढाइएको हो। भैरहवामा करिब १० वटा क्यासिनो सञ्चालनमा रहेका छन्।