महासचिव शंकर पोखरेललाई राजीनामा दिन उषाकिरण तिम्सेनाको सुझाव
एमाले नेतृ उषाकिरण तिम्सेनाले महासचिव शंकर पोखरेललाई राजीनामा दिन सुझाव दिएकी छन्। लामो समयदेखि पार्टी नेतृत्व नसच्चिएको परिणाम हालको निर्वाचन नतिजाले देखाएको भन्दै उनले महासचिव तहसम्मका नेताहरूले नेतृत्वबाट बिदा लिनुपर्ने बताएकी हुन्।
तिम्सेनाले पार्टी नेतृत्व समाजबाट पूर्ण रूपमा बेखबर बनेकाले यस्तो परिणाम भोग्नुपरेको तर्क गरिन्। ‘यो नतिजाले एमाले मात्रै सकिएको भए ठूलो चिन्ता थिएन। यहाँ त राज्यका मूल्य र मान्यतामाथि नै प्रहार भएको छ,’ उनले भनिन्, ‘हिजो दुईदलीय व्यवस्था मात्रै चाहिन्छ भनेर वकालत गर्नेहरूले बुझून्— हाम्रो संविधानमा बहुदलीय व्यवस्था किन राखियो।’
राजीनामाको माग व्यक्तिगत नभई राजनीतिक दृष्टिले भएको उनको भनाइ छ। पार्टीलाई अहिलेको अवस्थामा पुर्याउनेहरूलाई नेतृत्वमा बसिरहन कुनै नैतिक आधार नरहेको उनले बताइन्।
‘आज मानिसहरू के भन्छन्, विश्वमा के भइरहेको छ भन्नेबारे उहाँहरूले केही बुझ्नुभएन,’ तिम्सेनाले भनिन्, ‘खाली बालकोट र च्यासल मात्रै चहारेर अध्यक्षका मुखारविन्दुबाट के वाणी आयो भन्नेबाहेक केही गरेको देखिएन। विगत १० वर्षदेखि यस्तै भइरहेको छ।’
उनका अनुसार पार्टी नेतृत्वले कस्मेटिक सफलताहरू देखाएर जनतालाई भुलाउने प्रयास मात्रै गरिरहेको छ। सम्पूर्ण केन्द्रीय कमिटी समाजसँग जोडिन नसकेकाले असन्तुष्टिका आवाज सुन्न र महसुस गर्न नसकेको उनको भनाइ छ।
‘हाम्रो नेतृत्व सत्ता र शक्तिमा रमाएर बसिरहेको थियो,’ उनले भनिन्, ‘केही खास उपलब्धि हुन नसक्ने ठाउँमा भ्यू टावर बनाउने, धरहरा र रानीपोखरीको पुनर्संरचनालाई नै ठूलो उपलब्धि मानेर बस्यौं। समाजबाट पूर्ण रूपमा टाढिनु नै असफलताको मुख्य कारण हो।’
तिम्सेनाले आफ्नो पुस्ताले संघर्ष गरेर गणतन्त्र ल्याएको उल्लेख गर्दै त्यस उपलब्धिलाई नेताहरूले व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको आरोप पनि लगाइन्। समाज सधैं भविष्यप्रति आशावादी हुने ठाउँतर्फ अघि बढ्ने भएकाले अहिलेको नतिजा आएको उनको तर्क छ।