जेष्ठ नागरिकमाथि दुर्व्यवहारपछि कार्यकर्ता पक्राउ, जेष्ठ नागरिकसँग गृहमन्त्री गुरुङको भेट
सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा एमालेका कार्यकर्ता पक्राउ परेका छन् । जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईंलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
बजगाईंले ललितपुरको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेका थिए । एमालेका कार्यकर्ताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार गरेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।
साे घटनापछि गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले बजगाईंलाई पक्राउ गरेकाे हाे । उनीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
यसैबीचमा गृहमन्त्री गुरुङले उक्त घटनाका पीडित जेष्ठ नागरिकलाई ललितपुरस्थित उनकै निवासमा पुगेर भेटेका छन् । आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ् दिएको भन्दै जेष्ठ नागरिकले गृहमन्त्री गुरुङलाई धन्यवाद दिए ।
गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए ।