हरिसिद्धीमा ६ हजारभन्दा बढी ग्यास सिलिन्डर लुकाएको भेटियो
बजारमा ग्यासको अभाव भएको बेला उद्योगमा छापा मार्दा ६ हजार ६ सय ७७ वटा भरिएका फुल ग्यास सिलिन्डर फेला परेका छन् । आज नेपाल आयल निगम र वाणिज्य विभागले गरेको अनुगमनका क्रममा लुकाएर राखिएको अवस्थामा ती ग्यास सिलिन्डर भेटिएका हुन् ।
वाणिज्य विभागलाई प्राप्त सूचनाका आधारमा विभाग र निगमको टोलीले टोलीले ती पूर्ण सिलिन्डर (फुल सिलिन्डर) ग्यास फेला पारेको हो । धादिङमा उद्योग रहेको श्रीराम ग्यासले उत्पादन गरेर ललितपुरको हरिसिद्धिस्थित गोदाममा राखेको अवस्थामा उक्त परिमाणको ग्यास भेटिएको हो ।
बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि निगमले आधा सिलिन्डर मात्र ग्यास उत्पादन र बिक्री गर्न उद्योगहरूलाई निर्देशन दिएको समयमा उद्योगमा ठूलो परिमाणमा फुल सिलिन्डर ग्यास भेटिएको हो ।
सरकारले गत बिहीबार नै बजारमा ग्यासको सहजताका लागि आधा सिलिन्डर मात्र उत्पादन र बिक्री गर्ने निर्णय गरेको थियो । नेपाल आयल निगमले बिहीबार निर्णय गरे पनि शुक्रबारसम्म फुल ग्यास बिक्री गर्न अनुमति दिएको थियो । तर, श्रीराम ग्यासले ती सिलिन्डरहरू हरिसिद्धिमा थुपारेर राखेको पाइएको छ ।
वाणिज्य विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाका अधिकृत अमित कुमार झाले हरिसिद्धिस्थित श्रीराम ग्यासको भण्डारण स्थलमा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको बताए ।
झाले भने, ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको भण्डारण स्थलमा अनुगमन गरी कारबाही गरेको हो । बजारमा ग्यास अभावको गुनासो बढिरहेका बेला विभागले गरेको आकस्मिक निरीक्षणका क्रममा गोदाममा ठूलो परिमाणमा भरिएका सिलिन्डरहरू लुकाएको अवस्थामा फेला परेका हुन् । बजारमा माग उच्च भएको समयमा यति धेरै स्टक राख्नुले कृत्रिम अभाव सिर्जना गर्न खोजिएको सङ्केत गर्छ ।
यसरी ग्यास सञ्चय गरेर आपूर्ति असहज बनाएको र उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान उल्लंघन गरेको ठहर गर्दै विभागले श्रीराम ग्यासलाई तत्काल ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।’
जरिवानासँगै विभागले गोदाममा रहेका सबै सिलिन्डरहरू नेपाल आयल निगमसँगको समन्वयमा तुरुन्तै बजारमा पठाउन र आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएको छ । विभागले आगामी दिनमा पनि यस्ता अनुचित व्यापारिक क्रियाकलाप गर्ने अन्य फर्महरूमाथि निगरानी र कारबाही निरन्तर राख्ने जनाएको छ ।