गोरखा–१ मा पुराना दलको विरासत तोड्दै सुदन गुरुङको उदय
कांग्रेस र माओवादी (हालको नेकपा) ले आलोपालो गर्दै चुनाव जित्दै आएको गोरखा–१ मा यसपालि अप्रत्याशित नतिजा आएको छ। देशभर जस्तै गोरखा–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
उनको जितसँगै गोरखा–१ मा कांग्रेस र कम्युनिस्टको आलोपालो विरासतमा ब्रेक लागेको छ। यहाँबाट २०४८, २०५१, २०५६ र २०७९ मा नेपाली कांग्रेस तथा २०६४, २०७० र २०७४ मा माओवादी (हाल कम्युनिस्ट पार्टी) का उम्मेदवार विजयी भएका थिए। यसपालि भने सो पार्टीका सुदन गुरुङ दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका हुन्।
गुरुङले २९ हजार ८ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत पाए। नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गरे भने एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७ सय ३२ मत पाए। अन्य उम्मेदवारहरूले उल्लेखनीय मत प्राप्त गर्न सकेनन्।
जेन–जी आन्दोलनका क्रममा देशदेखि विदेशसम्म चर्चा बटुलेका सुदन अहिले गोरखा–१ बाट निर्वाचित भएका छन्। सुदनको जित जति चर्चित छ, उनीमाथि लागेका आरोपहरू पनि त्यत्तिकै रहस्यमयी र विवादास्पद मानिन्छन्। सुरुमा राजनीति नगर्ने बताउँदै आएका उनले जेन–जी आन्दोलनमार्फत देशमा सुशासन र भ्रष्टाचार अन्त्यको आवाज उठाएका थिए।
उनले आन्दोलनको नेतृत्व मात्रै गरेनन्, आन्दोलनपछि बनेको सरकार गठनदेखि निर्वाचनसम्म पनि सक्रिय भूमिका खेले। सुरुमा मन्त्री नबन्नेहरूको सरकार बनाउने भनिए पनि पछि मन्त्री बनेकाहरूले धमाधम राजीनामा दिँदै सांसदको चुनाव लड्न थाले।
तत्कालीन सरकारका ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ता लगायतले पनि चुनावमा प्रतिस्पर्धा गरेका थिए। उनीहरू सबै निर्वाचित भएका थिए।
संविधान राख्ने कि नराख्ने भन्ने द्विविधामा रहेका सुदनले सरकारले चुनावको मिति घोषणा गरिसकेपछि पनि विज्ञहरूले झुक्याएर संसद् विघटन गराएको गुनासो गर्दै आएका थिए।
पोखरामा आयोजित एक सम्मान कार्यक्रममा उनले विज्ञहरूले नै झुक्याएर संसद् विघटन गराएको बताएका थिए। अन्य सार्वजनिक कार्यक्रममा पनि उनले यो कुरा पटक–पटक दोहोर्याएका छन्। विशेषगरी गृहमन्त्री ओमप्रकाश अर्यालतिर लक्षित गर्दै उनले अर्यालकै कारण संसद् विघटन भएको र त्यो निर्णय गलत भएको बताएका थिए।