राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले दिइन् राजीनामा
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छिन् । महासंघभित्र राजनीतिक हस्तक्षेपले गर्दा काम गर्न समस्या भएको दाबी गर्दै उनले राजीनामा दिएकी हुन् ।
उनी स्वास्थ्य उपचार र पारिवारिक भेटघाटका लागि विगत ६ महिनादेखि अमेरिकामा छिन् । उनले अमेरिकाबाटै राजीनामा पठाएकी हुन् ।
मल्लले आफ्नो राजीनामा पत्रमा स्वास्थ्य अवस्थाका साथै संस्थाभित्र मौलाएको चरम राजनीतिक हस्तक्षेप र आन्तरिक घेराबन्दीलाई मुख्य कारणका रूपमा उल्लेख गरेकी छिन् ।
उनले राजीनामा पत्रमा लेखेकी छिन्– अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरू पार्टी हित अनुकूल हुनुपर्ने जस्ता दबाबको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन ।
महाप्रबन्धक नियुक्तिदेखि अन्य कार्यालयका महत्त्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसाबले काम गर्ने वातावरण नबनेको उनको दाबी छ । मल्लले पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएको बताएकी छिन् ।
‘महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरेँ तर एउटै पार्टीका साथीहरू रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरूको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ’, मल्लको राजीनामा पत्रमा उल्लेख छ ।
सहकारीको मूल्य–मान्यता र सिद्धान्त विपरीत पार्टीको विभागीय प्रमुखसँग हरेक निर्णयमा सल्लाह लिनुपर्ने दबाबले गर्दा स्वतन्त्र रूपमा काम गर्ने वातावरण नरहेको उनको दाबी छ । हाल महासंघमा वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।