राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
अधिकारी विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ । त्यो रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको अख्तियारले जनाएकाे छ ।
एच.के. इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा विभागमा उजुरी परेकाे प्रवक्ता सुरेश न्यौपाने बताए । त्यसपछि मुद्दाबाट जोगिन उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारले जनाएकाे छ ।
घुस वापतकाे रकम अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको सल्लाह तथा मिलेमतोमा ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायत बैंक तथा वित्तीय संस्थामा जम्मा गरेकाे पाइएकाे छ ।