दलितमाथि बढ्दो हिंसाविरुद्ध माइतीघरमा खबरदारी प्रदर्शन
दलित समुदायमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौंको माइतीघरमा खबरदारीसहित प्रदर्शन गरेका छन्।
बुधबार आयोजित प्रदर्शनमा सहभागीहरूले पीडितहरूका लागि न्यायको माग गर्दै मृतकहरूको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका थिए।
प्रदर्शनमा “महिला हिंसा अन्त्य गर”, “बलात्कारीलाई कडा कारबाही गर”, “सरकार बदलियो, समाज बदलिएन” र “महिला शोषण विरुद्ध एक हौँ” लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
उनीहरूले निर्वाचनपछि दलित समुदायका प्रतिनिधि संसद्मा पुगेकाले अब दलित अधिकारका मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्। साथै सडकमा संघर्ष गर्दै आएका नेताहरूले संसद् र सरकारबाट दलित समुदायका अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने माग गरेका छन्।