धनुषा–१ विवादमा सर्वोच्चमा बहस जारी, यादव पक्षका वकिल पनि सहभागी
धनुषा-१ को उम्मेदवारीसम्बन्धी मुद्दा लम्बिँदै गएको छ । निर्वाचन आयोगले विजयी भएको प्रमाणपत्र दिएपछि उनका वकिललाई पनि बहसमा सहभागी गराइएको छ । जसका कारण मुद्दा लम्बिएको हो ।
मतदानको पूर्वसन्ध्यामा उम्मेदवारी खारेज गरिएका रास्वपा उम्मेदवार किशोरी साह कमलको रिटका आधारमा सुनुवाइ गर्दागर्दै निर्वाचन आयोगद्वारा ‘निर्वाचित’ घोषणा गरिएका नेकपा उम्मेदवार यादवका कानून व्यवसायी पनि बहसमा सहभागी भएका हुन् ।
तर, आजै आदेश आउने सम्भावना रहेको सर्वोच्च अदालतका सूचना अधिकारी उपरजिष्ट्रार्ड निराजन पाण्डेले बताए ।
साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले फागुन १९ गते उनको उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । कमल निर्माण सेवा प्रालिले २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको हो । यद्यपि, बिहीबार सर्वोच्च अदालतले कालोसूचीबाट नाम हटाउन कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
कर्जा सूचना केन्द्रको रिटका आधारमा सर्वोच्चका न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले साहलाई कालोसूचीबाट हटाउन दिएको हो । शुक्रवार साहको रिटको पेसी चढेको थियो । तर, अघिल्लो दिन अन्तरिम आदेश दिने न्यायाधीश सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा उक्त पेसी चढ्दा सुवेदी मुद्दा हेर्न अस्वीकार (रेक्युजल) गरेकी थिइन् । आज न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको इजलासमा बहस भइरहेको छ ।
निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मात्रिकाप्रसाद यादवले प्राप्त गरेको १०४३० मतलाई ‘निर्वाचित’ भनी घोषणा गरिसकेको छ । उनले निर्वाचित भएको प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । तर, सर्वोच्चले कर्जा सूचना केन्द्रलाई साहलाई कालोसूचीबाट हटाउन आदेश दिएपछि घोषित मत परिणाम नै संकटमा परेको छ ।