मर्स्याङ्दी सुक्ने जोखिममा सरोकारवालाको चिन्ता: सम्भावना देख्न नसक्दा अवसर गुमाउँदै लमजुङ
बेसीशहर (लमजुङ) । लमजुङमा विकासका प्रचुर सम्भावना रहे पनि त्यसलाई दीर्घकालीन दृष्टिले हेर्ने चेतनाको अभावमा महत्वपूर्ण अवसरहरू गुम्दै गएका छन्। विशेषगरी जिल्लाको मेरुदण्ड मानिने मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर पर्यटन, जलक्रीडा र वातावरणमैत्री आर्थिक गतिविधि विस्तार गर्ने बहस चलिरहँदा, प्रस्तावित 'मर्स्याङ्दी बेसी जलविद्युत आयोजना'का कारण नदी नै सुक्ने जोखिम बढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

अहिले लमजुङ महोत्सवको रौनक चलिरहेको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको र्याफ्टिङमा सहभागी हुनेहरू नदीमा फालिएको ठूलो परिमाणको फोहोर देख्दा खल्लो महसुस गर्न थालेका छन्। एकातिर नदीमा बढ्दो प्रदूषणले यसको प्राकृतिक सुन्दरता कुरुप बनाउँदै लगेको छ भने अर्कोतर्फ भविष्यमा हाइड्रोपावर बनेर नदीको पानी टनेलमा हालिएपछि यो क्षेत्रको अस्तित्व के होला भन्ने प्रश्न पेचिलो बन्दै गएको छ।
महोत्सवको अवसरमा र्याफ्टिङको आनन्द लिन आउने पर्यटकहरूले नदीको दुर्गन्ध र फोहोरका कारण खिन्नता प्रकट गरिरहेका छन्, जसले लमजुङको पर्यटन ब्रान्डिङमै धक्का पुर्याइरहेको छ।
सरकार, स्थानीय तह र समाजका केही तप्का नदी संरक्षणमा लाग्नुको सट्टा सार्वजनिक पानी, जग्गा र ढुंगा जस्ता प्राकृतिक स्रोतको दोहन गरी आर्थिक लाभ लिने खेलमा केन्द्रित भएको आरोप लाग्न थालेको छ। यदि नदीमा प्रदूषण नियन्त्रण गरी वातावरणमैत्री गतिविधि र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न सके बेसीशहर नगरपालिका र समग्र लमजुङको आर्थिक अवस्थामा ठूलो सुधार आउने जानकारहरूको भनाइ छ। तर, यति ठूलो सम्भावना हुँदाहुँदै पनि सरोकारवालाहरूले खोलालाई केवल 'पैसा कमाउने मेसिन'का रूपमा मात्र हेर्दा भविष्य संकटमा परेको छ।
नदी संरक्षणको यो बहस चलिरहँदा समाजका सचेत वर्ग मानिने पत्रकार र कलाकारहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। पछिल्लो समय केही पत्रकार र कलाकारहरू विषयवस्तुको गहिराइमा पुगेर आवाज उठाउनुको साटो केवल फोटो खिच्ने र औपचारिकतामा मात्र सीमित भएको भन्दै आलोचना भइरहेको छ। समाजका लागि बोल्नुपर्ने समयमा मौनता छाउनु र संरक्षणका अभियानहरूलाई कमजोर पार्ने गरी भइरहेका चलखेलले थप आशंका जन्माएको स्थानीयको आरोप छ। यद्यपि, केही सचेत पत्रकार र अभियन्ताहरूले भने प्रतिकूल परिस्थितिका बाबजुद मर्स्याङ्दी बचाउने अभियानलाई निरन्तरता दिइरहेका छन्।
मर्स्याङ्दी संरक्षण अभियानमा सक्रिय जनकराज बस्नेतले मर्स्याङ्दी नदी केवल एउटा प्राकृतिक स्रोत मात्र नभई लमजुङको भविष्यसँग जोडिएको जीवनरेखा भएको बताएका छन्। उनले नदी सुक्ने गरी भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै विकासका नाममा प्रकृतिमाथि हुने अतिक्रमण रोक्न सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनी भन्छन्, "अहिले त फोहोरले र्याफ्टिङ खल्लो भइरहेको छ, भोलि हाइड्रो बनेर नदी नै सुकेपछि हामी के देखाएर पर्यटनको कुरा गर्छौं?"
हाल आयोजना बन्द अवस्थामा रहे पनि यो बन्ने वा नबन्ने विषय अझै टुंगो नलागेकाले 'मर्स्याङ्दी बेसी जलविद्युत आयोजना' लमजुङको सबैभन्दा संवेदनशील बहसको विषय बनेको छ। स्थानीय तह, राजनीतिक दल र नागरिक समाजबीच स्पष्ट सहमति नबन्दा यो विवाद अझै लम्बिने देखिएको छ। समयमै सही निर्णय लिन नसके मर्स्याङ्दीसँगै यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान नै संकटमा पर्ने निश्चित छ। इतिहासले यस विषम परिस्थितिमा सबैको भूमिकाको मूल्याङ्कन गर्ने सन्देश समेत यो बहसले दिएको छ।

