बेसीशहरमा बोलेरोको ठक्करबाट वृद्धा गम्भीर घाइते, थप उपचारका लागि काठमाडौँ रिफर
लमजुङको बेसीशहर नगरपालिका वडा नं. २ स्थित सुवेदी गाउँमा बोलेरो जिपको ठक्करबाट एक स्थानीय वृद्धा गम्भीर घाइते भएकी छन्। स्थानीयका अनुसार सुवेदी गाउँकै ६५ वर्षीया मङ्गली सुवेदीलाई जिपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी हुन्।
ग ३ च ९१३ नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा सुवेदीलाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। ठक्कर दिएपछि जिपको टायरले समेत कुल्चिएको आशंका गरिएको र उनी सडकमा निकै गम्भीर अवस्थामा फेला परेकी थिइन्।
दुर्घटनालगत्तै स्थानीयवासीले सक्रियता देखाउँदै उनलाई उद्धार गरी बेसीशहरस्थित प्रदेश अस्पताल पुर्याएका थिए। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि तत्काल काठमाडौँ रिफर गरिएको स्थानीय पत्रकार रविन्द्र परियारले जानकारी दिएका छन्।
ठक्कर दिने उक्त बोलेरो जिप बेसीशहरस्थित निश्वल फ्रेस हाउसको रहेको बुझिएको छ। घटनापछि प्रहरीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। यद्यपि, घटनाको विस्तृत विवरण र अनुसन्धानबारे प्रहरीले आधिकारिक जानकारी दिन बाँकी रहेको छ।