अवैध उत्खनन्मा संलग्न ५ जना पक्राउ
कैलालीको चुरे गाउँपालिका–४ स्थित अधेरी खोलाबाट अवैध तवरले ढुंगा र गिट्टी निकालिरहेका ५ जनालाई वन कार्यालयको टोलीले पक्राउ गरेको छ।
डिभिजन वन कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले एक्साभेटर लगाएर नदीजन्य पदार्थ दोहन गरिरहेको बेला उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा उत्खनन तथा ढुवानीमा प्रयोग भएका भ्याकु लोडर, टिपप्पर र ट्याक्टरका चालकहरू रहेका छन्। वन कार्यालयका अनुसार घटनास्थलबाट ३ वटा टिप्पर, १ वटा ट्याक्टर र एउटा भ्याकु लोडर जफत गरिएको छ। हाल उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
कुनै पनि वातावरणीय अध्ययन र अनुमतिबिना यसरी खोला दोहन गर्नु गैरकानुनी भएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए। उनका अनुसार वन ऐनअन्तर्गत यस्तो कसुरमा संलग्न हुनेलाई बिगोको आधारमा जरिवाना, जेल सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ।
यसका साथै, सोही क्षेत्रमा रुख कटान र काठको अवैध ओसारपसारसमेत भइरहेको प्रारम्भिक सूचना प्राप्त भएको वन कार्यालयले जनाएको छ। चुरे विनाश रोक्न गस्ती र निगरानी बढाइएको भन्दै कार्यालयले यस्ता अवैध गतिविधिमा संलग्न जो कोहीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ।