सल्यानमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन विस्तार: अशोक कुँवरको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
सल्यान जिल्लामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो विद्यार्थी संगठन विस्तार अभियानलाई तीव्र पारेको छ। यसै क्रममा शारदा नगरपालिका-१, श्रीनगरस्थित शिवजन माध्यमिक विद्यालयमा आयोजित एक विशेष भेलाले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नयाँ कार्यसमिति चयन गरेको छ।
९ सदस्यीय एकाइ समिति गठन
विद्यार्थीहरूको भेलाले अशोक कुँवरको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) एकाइ समिति सर्वसम्मत रूपमा गठन गरेको हो। कार्यक्रममा शिवजन माध्यमिक विद्यालयका करिब ४० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
"क्रान्तिको आधार विद्यार्थी आन्दोलन नै हो" : हेमन्त वली
भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हेमन्त वलीले देशमा वास्तविक परिवर्तनका लागि सचेत र संगठित विद्यार्थी शक्तिको आवश्यकता रहेको बताउनुभयो।
विद्यार्थी राजनीतिबाटै स्थापित नेता वलीले भन्नुभयो, "क्रान्तिको मुख्य आधार नै विद्यार्थी आन्दोलन हो। हामीले संगठन निर्माणमा जुन गति लिएका छौँ, यसले छोटो समयमै उल्लेखनीय प्रगति गरेको छ। अबको पुस्ता वैचारिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्छ।"
अनुशासन र वैचारिक स्पष्टतामा जोड
त्यसैगरी, विद्यार्थी संयोजक हेमन्त डागीले विद्यार्थीहरूलाई देशको मेरुदण्डको संज्ञा दिँदै संगठनभित्र अनुशासन र वैचारिक सुझबुझ हुनुपर्नेमा जोड दिनुभयो। वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी संगठनको भूमिका अझै सशक्त हुनुपर्ने उहाँको तर्क थियो।
संगठन विस्तारमा तीव्रता
हाल क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कारको कार्यदिशालाई अघि सार्दै सल्यानका विभिन्न स्थानमा संगठनात्मक तथा जनआधारित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। विद्यार्थी संगठन निर्माणमार्फत पार्टीले आफ्नो जग मजबुत बनाउने रणनीति लिएको बुझिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले शैक्षिक मुद्दा र वर्तमान राजनीतिक अवस्थाबारे समेत प्रशिक्षण भएको थियो ।
