मध्यपूर्वको तनावप्रति गगनको चिन्ता, नेपालीलाई सतर्क रहन आग्रह
नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।
विभिन्न देशहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्था झन संवेदनशील बनेको उल्लेख गर्दै उनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
‘आफ्नो ख्याल गर्नुहोला,’ भन्दै उनले विदेशमा रहेका नेपाली समुदायलाई संयम र सावधानी अपनाउन अपिल गरेका छन्।
साथै, उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिन र आवश्यक परेमा तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।