पिपलकाँडा–मेलगौरी सडक भ्रष्टाचार मुद्दाका प्रतिवादीले पाए सफाइ
विशेष अदालतले पिपलकाँडा–मेलगौरी सडक खण्ड निर्माणमा भ्रष्टाचार भएको भनिएको मुद्दामा सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो
सफाइ पाउनेहरूमा दुर्गाबहादुर ओली, दलबहादुर ओली, महेन्द्र शर्मा, शान्तबहादुर बस्नेत र मालिका बस्नेत निर्माण सेवा रहेका छन् । बाफिकोट गाउँपालिकाअन्तर्गतको उक्त सडक निर्माणमा वास्तविक कार्यभन्दा बढी भुक्तानी दिइएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकको लम्बाइ २९०० मिटर मात्र रहेको तर ३७०० मिटरको भुक्तानी दिइएको भन्दै २१ लाख ६३ हजार ८६५ रुपैयाँ ४४ पैसा भ्रष्टाचार भएको दाबी गरेको थियो । तर, विशेष अदालतको आदेश बमोजिम जिल्ला अदालत मार्फत गरिएको स्थलगत प्राविधिक नापजाँचका क्रममा सडकको वास्तविक लम्बाइ ३७०० मिटर नै रहेको पुष्टि भएको फैसलामा उल्लेख छ ।
साथै, सडकको चौडाइ पनि ३.८ मिटरदेखि ७.४ मिटरसम्म रहेको र नापी किताब अनुसार काम भएको फेला परेको अदालतले जनाएको छ । अदालतले स्थलगत मुचुल्कामा उल्लेखित तथ्य र प्राविधिक प्रतिवेदनका आधारमा ‘बढी मूल्याङ्कन गरी भुक्तानी लिएको’ भन्ने अभियोग दाबी वस्तुनिष्ठ रूपमा पुष्टि हुन नसकेको ठहर गरेको छ ।
यो सडक आयोजनाको कुल लागत अनुमान १ करोड १९ लाख ८२ हजार ७९३ रुपैयाँ ३७ पैसा रहेकोमा मालिका बस्नेत निर्माण सेवासँग ७७ लाख ४४ हजार ५७० रुपैयाँ ५२ पैसामा सम्झौता भएको थियो ।